बीरगंज। बन्दीपुर गाउँपालिका ४, टुँडिखेल र अस्पताललगायत क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन् ।
टुँडिखेल टोल विकास समिति अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको जनाए ।
पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा मुनिका छन् ।
चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिकासहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत जन्तु मानिसले सिकार गरिदिँदा चितुवा बस्ती पस्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउन, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।
जंगल फँडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा समस्या आएको हो । ‘चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायत विषयमा सर्वसाधारणलाई सचेत गराएका छौं,’ उनले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।


