यस्तै विद्यार्थीमध्ये एक हुन् भैरहवाका हरिश (परिवर्तित नाम)। २३ वर्षीय हरिश क्यानडामा बेवारिसे अवस्थामा फेला परेका थिए। एक वर्षअघि मात्रै विद्यार्थी भिसामा क्यानडा पुगेका थिए। उनी टोरन्टोको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजी विषय पढ्न भर्ना भएका थिए। दुई वर्षमा पूरा हुने डिप्लोमा अन्तर्गतको कोर्ष हो यो। एक वर्षसम्मको पढाइ हरिशले जेनतेन पूरा गरे।दोस्रो वर्षको कलेज शुल्क तिर्नुपर्ने बेला भइसकेको थियो। तर यसबीच उनले कमाइ हुने काम पाउन सकेनन्। एकातिर कलेजको शुल्क तिर्नुपर्ने दबाब, अर्कोतिर क्यानडाको महँगिँदै गएको बसाइको मारमा परे।