बारा प्रहरीले २९ लाख रुपैयाँ भन्दा बढीको अबैध सामान बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा अबैध सामान बरामद गरेको हो ।
विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. २९ लाख २१ हजार ७ सय ५७ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा सो सामान बरामद गरेको हो । वीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख २२९ नम्बरको डिब्बा भ्यान गाडीमा खुद्रा समान सहित गाडीलाई नियन्त्रणमा लिइएको हो ।
उक्त भ्यान गाडीबाट अन्दाजी मुल्य रु. २८ लाख ५३ हजार ६ सय ५७ रुपैयाँ बराबर समानको श्रोत खुलाउन नसकेको तथा बिलबिजक भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छलीका गरी ल्याउदै गरेको बा.६८ प १९६९र बि.आर २२ भि.१६४० नम्बरको मोटरसाइकलसहित सामान बरामद गरेको छ।
प्रहरी टोलीलाई देखी मोटरसाइकल फाली मानिस फरार रहेकोले उक्त समान सहित मोटरसाइकल नियन्त्रणमा लिईएको हो ।
उक्त मोटरसाइकलबाट अन्दाजी मुल्य रु. ४४ हजार ४ सय रुपैयाँ बराबरको समान रहेको प्रहरीले जनाएको छ ।
खाने तेल १२ टिना अन्दाजी मूल्य रु. ३२ हजार ४ सय,प्याज १ सय ४० किलो अन्दाजी मूल्य रु. ९ हजार र बच्चाले खाने अचार अन्दाजी मुल्य रु. ३ हजार रुपैयाँ बराबरको समान प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी टाऊकोमा बोकी ल्याउदै गरेको खुद्रा समानहरु प्रहरीले बरामद गरेको छ ।
उक्त समान अन्दाजी मूल्य रु. २३ हजार ७ सय रुपैयाँ बराबरको प्रहरीले जनाएको छ ।
समान सहित डिब्बा भ्यानलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


