बारा प्रहरीले चेकजाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानहरूमा गाडीहरूलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.४३ लाख ७६ हजार ७ सय ८३ रूपैया बराबरको समान रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सुर्य नेपाल स्थितमा वीरगंजबाट सर्लाहीतर्फ जादै गरेको ना ३ ख ९४६७ नम्बरको बसमा लोड रहेको समान बरामद गरेको छ ।
प्रहरीले उक्त ट्रकबाट साडि २५ पिस,कुर्ता सुरवाल २२ पिस,थानको कपडा १७ थान गरी जम्मा अन्दाजी मुल्य रू.९० हजार रूपैया बराबरको बिल भरपाई नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ सिंगौलगेट स्थितमा वीरगंजबाट जनकपुरतर्फ जादै गरेको ना ४ ख ७६१२ नम्बरको बसमा लोड रहेको हाफपाईन्ट ३ सय ६८ पिस (रेडिमेड कपडा) अन्दाजी मुल्य रू.५५ हजार २ सय रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको समान बरामद गरेको हो ।
त्यसैगरी प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा लोड रहेको खुद्रा समानहरू अन्दाजी मुल्य रू.४२ लाख ३१ हजार ५ सय ८३ रूपैया बराबरको समान बरामद गरेको छ ।
बारा प्रहरीले उक्त समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।


