वीरगञ्ज । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
सप्तरीको सप्तकोशी-५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका-५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।
मंगलबार मात्रै पनि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर अर्का लागुऔषध कारोबारी समातेको थियो । भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर ब्यूरोले पक्राउ गरेको थियो ।
हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो । सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए ।


