वीरगञ्ज । प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो
बा.प्र.०३–०२–प९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको सिटमुनी लुकाई छिपाई प्लाष्टिकको झोलाभित्र लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही ठाउँका २४ वर्षीय अमिर वानियालाई पक्राउ गरिएको थापाले बताए । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको छ ।

