वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडरवा बस्ने ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
ज्यान सम्बन्धी कसूरमा फरार रहेका यादवलाई लुकीछिपी बस्दै आएको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रवक्ता समेत रहेका थापाले बताए ।
उनले १२ साउन २०६३ सालमा पर्साको साविक गा.वि.स. लखनपुर वडा नम्बर ९ हाल परिवर्तीत सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए ।
निजविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।

