वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको गाँजा खेती नष्ट गरेको छ।प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न स्थानमा पुगेर अवैध रूपमा लगाइएको करिब ७ हजार ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको हो।खेत तथा खाली जग्गामा लुकिछिपी लगाइएको गाँजा खेतीलाई पूर्ण रूपमा नष्ट गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा संलग्नता खुलाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको बताइएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने र अवैध रूपमा गाँजा तथा अन्य लागूऔषधको खेती, ओसारपसार र कारोबार गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।


