बाराको विश्रामपुर गाउँपालिका मा सार्वजनिक भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालामाझ गहिरो निराशा छाएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्त कमजोर देखिएपछि शिक्षा व्यवस्थापन, शिक्षक परिचालन तथा गाउँपालिकाको शिक्षा प्रशासनमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
सार्वजनिक तथ्यांकअनुसार विश्रामपुर गाउँपालिकाका तीन विद्यालयबाट सामान्यतर्फ एसईई परीक्षामा सहभागी भएका १३८ जना विद्यार्थीमध्ये केवल २६ जना मात्र उत्तीर्ण भएका छन् । यससँगै गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत १८ दशमलव ८४ मा सीमित भएको छ ।
यस्तै, प्राविधिक धारतर्फ ९ जना विद्यार्थी सहभागी भएकामा ४ जना मात्र उत्तीर्ण भएका छन् ।विद्यालयगत विवरण हेर्दा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय इटियही को नतिजा सबैभन्दा कमजोर देखिएको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी ४९ जना विद्यार्थीमध्ये केवल ३ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ६ दशमलव १२ रहेको छ, जुन अत्यन्त न्यून मानिएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बालिरामपुर बाट एसईई परीक्षामा सहभागी २६ जना विद्यार्थीमध्ये ५ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुशहरवा बाट सहभागी ६३ जना विद्यार्थीमध्ये १८ जना मात्र उत्तीर्ण भएका छन् ।
कमजोर नतिजा सार्वजनिक भएसँगै गाउँपालिकाको शिक्षा प्रशासनमाथि स्थानीयवासी तथा अभिभावकहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । स्थानीय स्रोतका अनुसार गाउँपालिकाको शिक्षा शाखाले प्रभावकारी रूपमा काम गर्न नसक्दा शैक्षिक गुणस्तर खस्कँदै गएको आरोप लगाइएको छ ।विशेषगरी गाउँपालिकाका शिक्षा शाखा संयोजक महेश रिमाल माथि विभिन्न आरोप लाग्न थालेका छन् । स्थानीय स्रोतका अनुसार गाउँपालिका शिक्षा शाखाको सयोजक महेश रिमालले ठुलो ठुलो गफ मात्र दिन गरेको र शिक्षामा ध्वस्त पुग्न थाले छन ।
स्थानीय अभिभावकहरूको भनाइ उद्धृत गर्दै स्रोतहरूले शिक्षा क्षेत्रमा सुधारका ठूला प्रतिबद्धता जनाइए पनि व्यवहारमा कुनै ठोस उपलब्धि देखिन नसकेको बताएका छन् । शिक्षा संयोजक रिमालले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोपसमेत स्थानीयस्तरमा उठेको छ ।अभिभावकहरूले शिक्षा क्षेत्रमा कृपावाद, शिक्षक नियुक्तिमा पक्षपात तथा दरबन्दी मिलानमा अनियमितता बढ्दै गएको गुनासो गरेका छन् । केही स्थानीयले विद्यालयमा नियमित अनुगमनको अभाव, शिक्षकहरूको कमजोर उपस्थिती तथा विद्यार्थीको सिकाइस्तर खस्कँदै जानु कमजोर नतिजाको मुख्य कारण रहेको बताएका छन्
।स्थानीय स्रोतका अनुसार एसईई पूर्वतयारी कक्षा सञ्चालनमा समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप छ । विद्यार्थीलाई अतिरिक्त कक्षा, नमूना परीक्षा तथा विषयगत परामर्श दिने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नतिजामा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ ।शिक्षा क्षेत्रमा देखिएको विवाद, कमजोर नतिजा तथा प्रशासनिक कमजोरीले विश्रामपुर गाउँपालिकाको समग्र शैक्षिक अवस्था चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
गाउँपालिकाभित्रका अधिकांश अभिभावकले अब शिक्षा क्षेत्रमा पारदर्शिता, योग्य जनशक्ति व्यवस्थापन, नियमित अनुगमन तथा गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।स्थानीय बुद्धिजीवीहरूले पनि शिक्षा सुधारका लागि दीर्घकालीन योजना, सक्षम शिक्षक व्यवस्थापन तथा विद्यालयस्तरमा उत्तरदायित्व प्रणाली लागू गर्न आवश्यक रहेको बताएका छन् ।
उनीहरूले नतिजामात्र नभई विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि सुधार गर्ने दिशामा गाउँपालिका केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।यस विषयमा गाउँपालिकाको शिक्षा शाखाबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । तर सार्वजनिक भएको एसईई नतिजाले विश्रामपुर गाउँपालिकाको शिक्षा क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको संकेत गरेको स्थानीयको भनाइ छ ।

