बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ।
स्थानीयवासीले सरकारी साधनको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन्।स्थानीयका अनुसार सब–इन्जिनियर तेलीले गाउँपालिकाको ना १ बा ३१२५ का सरकारी नम्बर प्लेट भएको मोटरसाइकल कार्यालयीय कामबाहेक निजी प्रयोजनमा प्रयोग गर्दै आएको देखिएको बताएका छन्।
विशेषगरी सार्वजनिक बिदाको दिन समेत सरकारी सवारी साधन व्यक्तिगत रूपमा चलाइएको देखिएपछि यस विषयले चर्चा पाएको हो।स्थानीयहरूले सरकारी सम्पत्तिको प्रयोग सम्बन्धी स्पष्ट मापदण्ड हुँदाहुँदै पनि जिम्मेवार कर्मचारीबाट नै लापरवाही भएको आरोप लगाएका छन्।
उनीहरूले सरकारी साधनको दुरुपयोग रोक्न गाउँपालिका नेतृत्वले आवश्यक छानबिन तथा कारवाही गर्नुपर्ने माग गरेका छन्।यता विश्रामपुर गाउँपालिकाका प्रमुख सुनील केशरीमाथि पनि आफ्ना कर्मचारीलाई संरक्षण दिएको आरोप उठ्न थालेको छ।
स्थानीयवासीले “यदि वास्तविक रूपमा सरकारी साधनको दुरुपयोग भएको हो भने गाउँपालिका प्रमुखले निष्पक्ष छानबिन गरी कारवाही गर्छन् कि गर्दैनन् ?” भन्ने प्रश्न उठाएका छन्।

