वीरगंज।
नेपाल प्रहरीले गत बिहीबार नागढुंगाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आइतबार पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको जानकारी दिए । गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको थियो ।
त्यसक्रममा रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल पक्राउ परेका थिए । उनीहरूकै सूचनाका आधारमा आइतबार चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।