गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।
गत वर्षको ५ असारमा टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा विश्वकै लोपोन्मुख प्रजातिका रूपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।
गत ११ पुसमा कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । १७ चैत २०७८ मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु संख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
पछिल्लो ५ वर्षको अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा एउटा चितुवा, आर्थिक वर्ष २०७८÷०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघ र एउटा चितुवाको मृत्यु भएको छ ।
यसरी पासोमा पर्छन् वन्यजन्तु
आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ । अन्य साना जनावरलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । ‘मोटरसाइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो,’ उनले भने ।
उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण पनि भएको देखिन्छ । संरक्षणकर्मी डा. हेमसागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताउँछन् ।


