शिक्षिका निधनको शोकमा आइतबार जीतपुरसिमराका निजी (संस्थागत) विद्यालयले शोक विदा दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १४ रजघट्टास्थित साना किसान शिक्षा सदन विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएकी करिब १९ वर्षीया दीक्षाको शनिबार साँझ निधन भएको हो । उनको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
विद्यालयले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा दिनभर सहभागी भएर घर फर्किएकी दीक्षा साँझ मृत भेटिएकी हुन् ।
विद्यालयका संचालक अध्यक्ष विदुर खड्काका अनुसार ट्युसन पढ्न आउने विद्यार्थीले झुण्डिएको अवस्थामा देखेपछि अन्यलाई खबर गरेका थिए ।
पढाईमा अब्बल दीक्षाले साँझको समयमा ट्युसन पढाउथिन् ।नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट यसै वर्ष कक्षा १२ को परीक्षा दिएकी दीक्षा विज्ञान विषयको उत्कृष्ट विद्यार्थी थिईन् ।
सामान्य परिवारकी उनि विद्यालयका शिक्षकहरुको आग्रहपछि तीन दिनदेखि विद्यालयमा पढाउन थालेकी थिईन् ।विद्यालयको कार्यक्रममा रमाउँदै फोटो र भिडियो समेत खिचेकी उनि सबैसंग खुशी हुँदै छुट्टिएकी थिईन् ।
तर उनि घर फर्केको केही घण्टापछि मृत्युको दुःखद् खबर आएको विद्यालयका अध्यक्ष खड्काले बताए ।


