वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोली वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित क्षेत्रबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ५ लाख १० हजार ६०५ रुपैयाँ बराबरको कपडा, डिनर प्लेट र किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।
त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाटै खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट पनि भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख १० हजार ४८० रुपैयाँ बराबरको कपडा तथा किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ छटीघाटबाट पनि सशस्त्र प्रहरीले १८ हजार ८९० रुपैयाँ बराबरको चामल र प्याज बरामद गरेको छ । बरामद गरिएका ६ लाख ३९ हजार ९७५ रुपैयाँ बराबरका सबै सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

