वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा चेकजाँच गर्दा प्रहरीले लागुऔषध फेला पारेको हो । बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी तलासी गर्दा प्रतिबन्धित लागु औषध फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाई राखिएको एक सय मिलिलिटरको २२२ बोत्तल ओनरेक्स फेला परेको हो । लागुऔषधसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ३२ वर्षीय अजय रोक्का, सोही ठाउँका ३० वर्षीय दिपेन्द्र अधिकारी र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी १९ वर्षीय विकास सर्राफलाई पक्राउ गरिएको भारतीले जानकारी दिए ।पक्राउ परेका अभियुक्तहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको भारतीको भनाई छ ।

