गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।
मङ्गलवार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले अर्को पटक सीमा क्षेत्रमा तस्करी र राजस्व चुहावटमा भएका कमजोरी सुन्न नपर्ने गरी काम गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन्। लुम्बिनी प्रदेशमा राजश्व चुहावट धेरै नै हुने गरेको गुनासो आएकाले त्यसमा विशेष ध्यान दिन समेत उनले निर्देश गरे।
सङ्घीय लोकतान्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासको ग्यारेन्टी गरेको उनले बताए। उहाँले राज्यले शान्ति सुरक्षा दिन सके मात्रै नागरिकले निर्बाध रूपमा आफ्ना मौलिक हकको उपयोग गर्न सक्ने धारणा राखे।
उहाँले संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हक अधिकार र संविधानको कार्यान्वयन सबैको जिम्मेवारी भएको बताए। लेखकले अहिले सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै अहिलेको समीकरण ८४ सालसम्मै जाने जिकिर गरे