बारा – बाराको अमलेखगञ्जमा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागू औषध अफिम जस्तो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान ७:४० बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडिको चेकप्वाइन्टमा गरिएको नियमित चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइछिपाइ तस्करी गरिँदै गरेको २ किलो ९९ ग्राम लागू औषध बरामद गरेको हो।हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा सिटमुनी लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।घटनासँगै प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी ३२ वर्षीय सरोज प्रसाद साह रहेको खुलेको छ।अहिले उनलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।