लघुवित्त पीडित समूहका अध्यक्ष सोहन शर्मालाई छाड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बाराको अगाडि अघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।
लघुवित्तका पीडित समुह बताउनेहरुले नाराबाजी गर्दै बिहीवार विरोध प्रदर्शन गरेका हुन् ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको परवानीपुर शाखामा मंगलबार दिउँसो लघुवित्त पीडित समूहले शाखा कार्यालय भित्र प्रवेश गरी कार्यालय प्रयोजनका सामाग्रीमा आगो लगाएर नष्ट गरेको थियो ।
समूहले टेबल,कुर्सी,कम्प्युटर,प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गरेको,कार्यालयको दराजमा रहेको सदस्यहरुको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरु,सदस्यहरुका व्यक्तिगत फाईलहरु,दैनिक वित्तीय कारोवारमा भौचरहरु तथा नगदी रसिदहरु र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट तथा आगजनी गरेका थिए ।
लघुवित्तका समूहले कार्यालयका महत्वपूर्ण कागजपत्रहरु जलाए पछी प्रहरी परिचालन भएको थियोे । प्रहरी गएपछि सबै जना भागिसकेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
अनुसन्धान गर्दैजादा भिडियो,फोटो तथा अन्य प्रमाणहरु संकलन गरेको उनले बताए ।
एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको परवानीपुर शाखाले किटानी जाहेरी दिएपछि लघुवित पीडित समूहका अध्यक्ष शर्मालाई जाहेरीको आधारमा पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।
उक्त घटनामा उनको पनि संलग्नता रहेकोले उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले दावी गरे ।
उनलाई नियन्त्रणमा लिई अपराधिक उपद्रव मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रदर्शनकारीहरुले शर्मालाई रिहा गर,प्रहरीको मनोमानी चल्दैन जस्ता लगायतका नाराबाजी लगाउदै प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।
शर्मालाई रिहा नभएपछि थप आन्दोलन तथा विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन् ।

