वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले झन्डै १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
बुधवार सशस्त्र प्रहरी बल गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट तथा विभिन्न सिमानाकाबाट भारततर्फबाट अवैध रूपमा भित्र्याउँदै गरेको नौ लाख ८७ हजार एक सय १५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामग्रीमा कपडा, किराना सामान, मोटरपार्ट्स, हार्डवेयर, जुत्ता, र इलेक्ट्रिक सामान समावेश छन् । सामान विभिन्न यात्रुबाहक सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु हरि घिमिरेले जानकारी दिए ।
सशस्त्र प्रहरी बलले अवैध सामानको ओसारपसार रोक्न नियमित निगरानीलाई थप कडा पार्ने जनाएको छ ।