बीरगंज -२१ पुस, । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् ।शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४-४ सिटमा दाबी गरेका छन् ।‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने काम भयो, अब दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्छ’, स्रोतले भन्यो, ‘आजै, नभए भोलिसम्म कुरा मिल्न सक्छ ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।