वीरगन्ज | नेपालमा प्रतिबन्धित लागू औषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।
बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले बताए ।तरकारीको बाराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी कूल ६ सय पिस लागू औषध बरामद गरिएको थापाले जानकारी दिए । लागू औषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।


