विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260531_152354095

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५ लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको उक्त योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिनुपर्ने व्यवस्था विपरीत ठेकेदारमार्फत काम गराइएको आरोप लागेपछि स्थानीयस्तरमा विवाद चुलिएको हो।स्थानीयवासीका अनुसार गाउँपालिकाले प्राविधिक शिक्षालयदेखि दक्षिणतर्फ रहेको डोरा नदीसम्म करिब ३१० मिटर लम्बाइको नाला निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। योजना स्थानीय उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णय भएअनुसार वडा कार्यालयको समन्वयमा उपभोक्ता समिति गठन गरिएको थियो। समितिको अध्यक्षमा अदालत मियाँ धोबी चयन भएका थिए।तर, योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिले आफैं निर्माण कार्य नगरी फेटा गाउँका देवेन्द्र कलवार सञ्चालक रहेको “निखिल कन्ट्रक्सन” लाई करिब १८ लाख रुपैयाँमा निर्माण जिम्मा दिएको स्थानीयको आरोप छ। उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजनाको मूल उद्देश्य स्थानीय सहभागिता, पारदर्शिता र खर्च नियन्त्रण हुने भए पनि वास्तविक रूपमा ठेकेदार प्रणाली लागू गरिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।स्थानीय बासिन्दाहरूले निर्माण कार्यमा प्रयोग भइरहेको सामग्रीको गुणस्तरमाथि समेत गम्भीर शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार नालामा प्रयोग गरिएको गिटी, बालुवा र सिमेन्टको मिश्रण कमजोर देखिएको छ भने ढलान कार्य समेत प्राविधिक मापदण्डअनुसार नभएको आशंका गरिएको छ। कतिपय स्थानमा नालाको सतह असन्तुलित रहेको, पर्खालको मोटाइ कम देखिएको तथा निर्माण कार्य हतारमा गरिएको आरोप समेत स्थानीयले लगाएका छन्।स्थानीय युवा तथा सामाजिक अगुवाहरूले योजना निर्माणस्थलमा नियमित अनुगमन नभएको गुनासो गर्दै उपभोक्ता समितिको भूमिका औपचारिकतामा मात्र सीमित भएको बताएका छन्। उनीहरूका अनुसार योजनाको वास्तविक लागत र खर्चबीच ठूलो अन्तर देखिएको छ, जसले आर्थिक अनियमितताको आशंका थप बलियो बनाएको छ। “२५ लाखको योजना भनिए पनि कामको अवस्था हेर्दा लागत निकै कम देखिन्छ, बाँकी रकम कहाँ खर्च भयो भन्ने विषयमा स्पष्टता हुनुपर्छ,” एक स्थानीयले बताए।योजनाको प्राविधिक जिम्मेवारी विश्रामपुर गाउँपालिका ईन्जिनियर अरबिन्द साह र सब – ईन्जिनियर सर्फोदीन मिया तेलीले सम्हालिरहेका छन्। तर, स्थानीयले प्राविधिक सुपरिवेक्षण प्रभावकारी नभएको आरोप लगाएका छन्। निर्माण कार्यको गुणस्तर परीक्षण, मापन तथा नियमित निरीक्षण प्रक्रिया पारदर्शी नभएको भन्दै स्थानीयले गाउँपालिका प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएका छन्।स्थानीयवासीहरूले योजना सम्बन्धी सम्पूर्ण कागजात सार्वजनिक गर्न, लागत अनुमान र वास्तविक खर्च विवरण सार्वजनिक गर्न तथा निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न माग गरेका छन्। साथै, उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजनामा ठेकेदार संलग्न गराइएको विषयमा कानुनी र प्रशासनिक छानबिन हुनुपर्ने उनीहरूको माग छ।यता, विश्रामपुर गाउँपालिका कार्यालय, सम्बन्धित वडाध्यक्ष तथा उपभोक्ता समितिका पदाधिकारीबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित प्राविधिक निकायलाई समेत घटनाबारे ध्यानाकर्षण गराउने तयारी गरिरहेका छन्।स्थानीय तहबाट सञ्चालन हुने विकास योजनामा पारदर्शिता र गुणस्तर कायम गर्नुपर्ने माग भइरहेका बेला बरैनियाको यो नाला निर्माण योजना विवादमा तानिएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ। अब निष्पक्ष छानबिन र प्राविधिक परीक्षणमार्फत वास्तविकता सार्वजनिक हुने अपेक्षा स्थानीयले गरेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >