बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम प्रहरी नायव निरीक्षक सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो।
जिल्ला प्रहरी कार्यालय बारा, आर्थिक प्रशासन शाखामा दरबन्दी भई हाल कार्यालय मातहतको प्रहरी चौकी मुसहर्वा, बारामा कार्यरत प्रहरी नायव निरीक्षक सोनारले समाजमा शान्ति–सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणका लागि आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक दक्षता, इमान्दारी र कार्यकुशलताका साथ निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरी चौकी मुसहर्वामा कार्यरत रहँदा उनले शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने लगायतका कार्यमा महत्वपूर्ण योगदान र उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरी छनौट गरिएको जनाइएको छ।
उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद–१५ अन्तर्गत नियम १९७ को देहाय (ख) बमोजिम उनलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो।
प्रहरी उपरीक्षक कुँवरले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै प्रहरी नायव निरीक्षक सोनारलाई बधाई तथा आगामी दिनमा समेत थप जिम्मेवार, व्यावसायिक र प्रभावकारी ढंगले कार्यसम्पादन गर्न शुभकामना दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट प्रहरी छनौट तथा सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।


