पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा निर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ।
मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
पर्साका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले उक्त आधारभूत अस्पताल निर्माण गरिएको हो। संघीय सरकारको लगानीमा पर्साका चार स्थानीय तहमा शिलान्यास गरिएकोमध्ये यो एक अस्पताल हो।
पटेर्वा सुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शय्या, ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने योजना थियो। जसअन्तर्गत पटेर्वा सुगौलीको अस्पताल आठ करोड १० लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।
केपी ओली सरकारले ०७८ मंसिर १५ मा एकै दिन सातै प्रदेशमा ३०९ आधारभूत अस्पताल शिलान्यास गरेको थियो।