पर्सा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक संघीयतामा गएसँगै यहाँको स्वास्थ्य र शिक्षा क्षेत्र पनि संघीयतामा गएको बताएका छन् ।मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक संघीयतामा गइसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्र पनि सोही अनुरूप गाउँगाउँमा पुगेको छ,’ उनले भने, ‘हाम्रो राष्ट्र संघीय ढाँचामा गइसकेको छ, सोही अनुसार नेपाली जनताको गाउँठाउँमा स्वास्थ्य र शिक्षाको विकास भइरहेको हो ।’
सरकार स्वास्थ्य र शिक्षाजस्तो आधारभूत सेवा प्रवाह गर्नका लागि पनि तयार रहँदै आएको बताउँदै देउवाले हालको सबैभन्दा ठूलो आवश्यकता स्वास्थ्य र शिक्षा भएकाले सो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सरोकारवालालाई अनुरोध पनि गरे ।
उनले पटेर्वासुगौली गाउँपालिकामा स्थापित अस्पताल भवन र यसका सेवा सुविधा स्तरीय भएको बताउँदै अस्पतालले छिमेकी पालिकाका बिरामीलाई पनि सेवा दिने वातावरण निर्माण गरिनुपर्ने बताए । उनले यस्तै खालका पूर्वाधारले आगामी दिनमा जनताका लागि सहयोगी भूमिका निर्वाह गर्ने आशा र विश्वास आफूलाई रहेको सुनाए ।१० शैयाको अस्पताल भवन ७ करोड १० रुपैयाँमा सकार गरी मिलिनियम/सागर जेभी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । निर्माण लागतको ६० प्रतिशत अनुदान संघीय सरकारको र ४० प्रतिशत योगदान गाउँपालिकाको रहेको छ ।