बारा जिल्लाको प्रसौनी गाउँपालिका-१, त्रिवेणीस्थित गण्डक नहरमा पुरुषको शव फेला परेको छ। मिति २०८१/०७/०१ गते बिहान ९:३० बजे शव देखिएको जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव वीरगंज महानगरपालिका-३, छप्कैया टोलका २६ वर्षीय बिरेन्द्र साह सोनारको रहेको खुलेको छ।
बारा प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१०, मटिअर्वाबाट २८ वर्षीय विजय कुमार साहलाई मिति २०८१/०७/०७ गते साँझ ५:०० बजे पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा मृतक साहको श्रीमतीसँग प्रेम सम्बन्धका कारण विवाद हुँदा विजयले गम्छाले घाँटीमा कसी हत्या गरेको र मिति २०८१/०६/२७ गते राति ९:३० बजे गण्डक नहरमा शव फालेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।