नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् । बुधबार बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथै मेलाको अवलोकन तथा निरीक्षणसमेत गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरका पुजारीको हातबाट टीका र प्रसादसमेत ग्रहण गरेका थिए । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर ठुलो पहिचान दिएकाले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सरकारले सुरक्षामा कुनै पनि कसर बाँकी नरहने गरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
गढीमाई मेला पाँच वर्षमा एकपटक लाग्ने भएकाले मेलामा दर्शनार्थीहरूको चाप बढी हुने गरेकाले सुरक्षामा कुनै कसर बाँकी नरहने र आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने गृहमन्त्री रमेश लेखकले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए ।
यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको तथा गृहमन्त्रीले सुरक्षा व्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमी बाँकी नरहने प्रतिबद्धतासमेत गरेको जानकारी दिए ।
विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको चाप बढेको छ । मंसिर ०१ गतदेखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्नेछ । गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई गढीमाई मेला मूल व्यवस्थापन समितिले भव्य स्वागत गरेको थियो ।