बिरगंज । समुदायमा अपराध नियन्त्रण र कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘समुदायमा सरकारी वकील संवाद कार्यक्रम’ आज एक विशेष कार्यक्रम मार्फत सम्पन्न भएको छ। बिरगंज–१३ स्थित बिरगंज स्कुल अफ लव (Birgunj School of Law) को सभाहलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि सोही संस्थाका संचालक अधिवक्ता चन्द्रिका प्रसाद पटेल थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकिल कार्यालय, पर्साका जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौलाले गरेका थिए।अधिवक्ता पटेलले समुदायमा अपराध न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरूको आवश्यकताको चर्चा गर्दै, कानुनी विद्यार्थीहरूलाई सामाजिक इन्जिनियरको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे। “आजका कानुनी विद्यार्थीहरू नै भोलिका वकील, सरकारी वकील, र न्यायाधीश बन्ने भएकाले उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान गर्नुपर्छ,” उनले बताए।
कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला सरकारी वकील उमेश बिजश्री थारु, प्रा. डा. हरेराम ठाकुर, मुक्त भुषाल, बिनोद यादव, प्रदीप साह लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा बिरगंज स्कुल अफ लव B.A.L.L.B अध्ययनरत ४० जना विद्यार्थीहरू लाई प्रशिक्षण दिइएको थियो। सरकारी वकीलहरूले कानुनी प्रक्रिया सम्बन्धि जानकारी दिँदै सरकारी वकीलको भूमिका र कर्तव्य बारे प्रष्ट पारेका थिए। विद्यार्थीहरूले उठाएका विभिन्न कानुनी जिज्ञासाहरूको पनि समाधान गरिएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील अनन्तराज न्यौपाने ले गरेका थिए।

