उदयपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक हरिहर नाथ योगीले बताए ।
चौदण्डीगढी १ रानीटार निवासी अन्दाजी बर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट ३५ बोरा प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । ३५ वटा बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी २७५ ग्राम रहेको प्रहरीको भनाइ छ ।घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
पछिल्लो समय उदयपुरमा लागुऔषध कारोवारी र प्रयोग कर्ताहरुमा वृद्धि हुँदै गएको छ। उदयपुर जिल्लालाई लागु औषध ओसारपसारको ट्रान्जिट पोइन्टको रुपमा हेरिने गरिएको छ ।