वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले मङ्सिर २९ गते साँझ करिब ८ बजे वीरगञ्ज महानगरपालिका–१७ को कोनिया क्षेत्रमा चेकजाँचका क्रममा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी जाँच गरेको थियो।जाँचका क्रममा गाडीको पछाडिपट्टि प्लास्टिकका बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा १२ वटा पोकामा प्याक गरिएको करिब १७६ केजी गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।उक्त गाडीका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको लागू औषध, पिकअप गाडी तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


