बीरगंज – १५ पुस
वैदेशिक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा तयारी गरिरहेका दुई युवाको ज्यान जाने गरी शुक्रबार भएको घटनामा सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीमुक्त गरेको छ । पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को–बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले ‘घातक बल प्रयोग’ गर्दा शुक्रबार दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।
परिस्थितिको पूर्वआकलन गरेर सुरक्षा सावधानी नअपनाएको तथा प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयले प्रजिअ पण्डितलाई मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई लगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए ।
प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्न जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएका डीएसपी उमेश लम्साल, रोजगार अनुमति प्रणाली ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका बडीगार्ड नेपाल प्रहरीका असई बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।
यस्तै, घटनामा ज्यान गुमाएका रावत र शाहका परिवारलाई प्रतिमृतक १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय शनिबारको मन्त्रिपरिषद्ले गरेको छ । साउनमा करिब ३२ हजारले पानीजहाज निर्माणसम्बन्धी कामका लागि कोरियन भाषा परीक्षा दिएका थिए । त्यसको नतिजा नआउँदै कोरियाले पुनः उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको थियो । तर, पहिले सहभागी भएकालाई पछिल्लो आवेदनमा सहभागी हुन नपाउने प्रवधान राखिएकामा त्यसविरुद्ध १८ जना उच्च अदालत पाटन पुगेका थिए । अदालतले निवेदकका पक्षमा आदेश सुनाउँदै आवेदन दिन भनेपछि उनीहरू शुक्रबार ग्वार्कोस्थित ईपीएस कार्यालय पुगेका थिए ।

