काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरकै एक कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेल छन् । पौडेलविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौँ कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए ।
पौडेलले स्टाटस लेख्दै भनेका थिए , ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु ? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु ।’
झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै शाहको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनलाई शाहले २०८० पुस १६ गते निलम्बन गरेका थिए ।


