विरगन्ज,१३असोजः अविरल वर्षासँगै नदी र खोलाहरुमा आएको बाढीबाट रौतहटमा १ हजाार २ सय ४५ वटा घर डुबानमा परेको छ ।यस्तै तीन जनाको मृत्यु भएको छ ।दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको हो भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साहको भने घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु भएको हो । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको भने आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीबाट ६ जना सामान्य घाइते भएका छन् भने १ हजार ८ सय ५ परिवार विस्थापित भएका छन् । यस्तै १ सय २३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै बागमती ,लालबकैया लगायत विभिन्न नदी र खोलामा आएको बाढीले रौतहट जिल्लाको १८ पालिकामध्ये १३ वटा पालिका प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
वर्षा र बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।