जिल्ला प्रहरी कार्यालय पर्साले २२ केजी ५०० ग्राम लागुऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ। प्रवक्ता डिएसपी दीपक भारतीका अनुसार, वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित भिष्वा होटलअगाडिको सडकखण्डमा लागू औषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरीको टोलीले ना. १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार अभियुक्त २९ वर्षीय मकसूद अन्सारी , वर्ष २० को रामलाल सहनी , र वर्ष २९ को मुकेश कुमारलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरूको साथबाट कालो झोला र सेतो प्लाष्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा ४५ प्याकेट चरेश बरामद गरिएको थियो। प्रत्येक प्याकेटमा ५०० ग्रामका दरले कुल २२ केजी ५०० ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमा मकसूद अन्सारी र रामलाल सहनी बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ का बासिन्दा हुन् भने मुकेश कुमार भारतको बिहारस्थित मोतिहारी जिल्लाको निवासी हुन्। अभियुक्तहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।