बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र पारेको आरोप लागेको छ।स्थानीय व्यापारी स्रोतका अनुसार बरिष्ठ सई साहले ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, बटर तथा चकलेट कारोबारी, चिनी व्यापारी तथा विभिन्न गोदाम सञ्चालकसँग नियमित रूपमा अवैध रकम असुली गर्दै आएका छन्। एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “व्यापार गर्नै गाह्रो भएको छ, मासिक रूपमा रकम नदिएसम्म ढुवानी र कारोबारमा अवरोध गरिन्छ।”सूत्रका अनुसार भारतबाट पर्साका छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैथवा, भिस्वा, जनकिटोला लगायत नाकाहरू हुँदै तथा बारा जिल्लाका विभिन्न मार्ग प्रयोग गरी अवैध रूपमा भित्र्याइएका सामानहरू जितपुर नाका हुँदै अन्य जिल्लातर्फ लैजाने गरिन्छ। यस्ता सामग्रीलाई नियन्त्रण गरी कानुनी कारबाही गर्नुपर्नेमा बरिष्ठ सई साहले व्यापारीसँग साँठगाँठ गरी मासिक ‘नजराना’ बुझ्ने गरेको आरोप लगाइएको छ।त्यसैगरी वीरगञ्ज र कलैया बाट सञ्चालन हुने रात्री बस तथा ट्रान्सपोर्ट सवारीसाधनबाट समेत नियमित रकम उठाइने गरेको बताइएको छ। स्रोतका अनुसार प्रत्येक ट्रान्सपोर्ट व्यवसायीबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म र जितपुर क्षेत्रका कपडा कारोबारीबाट मात्रै मासिक ४ देखि ५ लाख रुपैयाँसम्म असुली भइरहेको दाबी गरिएको छ। आरोपबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय व्यापारीहरूले माग गरेका छन्।

